Section 9
प्रस्तोताको अधिकार
(१) प्रस्तोतालाई देहाय बमोजिमको कार्य गर्न पाउने अधिकार हुनेछः–
(क) आफ्नो प्रस्तुतिलाई प्रसारण वा सञ्चार गरी जन समक्ष पुर्‍याउने,
(ख) आफ्नो प्रस्तुतिलाई प्रस्तुत गर्ने तौरतरिका वा माध्यमको निर्धारण गर्ने र पुनरुत्पादन गर्ने,
(ग) आफ्नो प्रस्तुतिको प्रस्तुतीकरण वा त्यसको प्रतिलिपिहरु बिक्री वा हस्तान्तरण गरी वा स्वामित्व परिवर्तन गरी पहिलो पटक जन समक्ष पुर्‍याउने,
(घ) आफ्नो प्रस्तुतिको प्रतिलिपि भाडामा दिने,
(ङ) निर्धारित तौरतरिका वा माध्यमद्वारा उत्पादित प्रस्तुतिलाई तारयुक्त वा तार बिहिन उपकरण मार्फत सर्वसाधारण समक्ष सर्वसुलभ हुने गरी पुर्‍याउने,,
(च) आफ्नो प्रस्तुतिलाई परिमार्जन वा संशोधन गर्ने ।
(२) प्रस्तोताले एक पटक आफ्नो प्रस्तुतिलाई श्रव्यदृश्य माध्यममा समावेश गर्न स्वीकृति दिइसकेपछि निजले त्यसमा पुन उपदफा (१) मा उल्लिखित अधिकार प्रयोग गर्न पाउने छैन ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रस्तोतालाई प्रत्यक्ष श्रव्य प्रस्तुति एवं ध्वनिअङ्कनमा समायोजित प्रस्तुतिको प्रस्तोताको रुपमा आफ्नो पहिचान कायम गराउने र सोको दावी गर्न सक्ने अधिकार तथा आफ्नो प्रतिष्ठा वा ख्यातिको प्रतिकूल हुने गरी कसैले आफ्नो प्रस्तुतिलाई तोडमोड गरेको वा खण्डित गरेको वा अन्य प्रकारले अर्थान्तर हुने गरी विरुप गरेकोमा त्यस्तो कार्यलाई रोक्ने अधिकार हुनेछ ।
(४) यस दफामा लेखिएको कुनै कुराले आफ्नो प्रस्तुतिबाट बढी लाभान्वित हुने वा बढी सुविधा प्राप्त गर्ने खालका शर्त राखी सम्झौता गर्ने वा त्यसमा सहमत हुने प्रस्तोताको अधिकारमा कुनै असर पारेको मानिने छैन ।
(५) यस दफा बमोजिम प्रस्तोतालाई प्राप्त अधिकार ध्वनि उपकरणमा समायोजन भएको वर्षबाट पचास वर्षसम्म र त्यसरी समायोजन नगरेको भए त्यस्तो प्रस्तुति भएको वर्षबाट पचास वर्षसम्म कायम रहनेछ ।